
जनकपुर, साउन ६ — आर्थिक गतिविधिमा देखिएको सुस्तताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ६ करोड ७८ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
कार्यालय प्रमुख आनन्दकुमार गुप्ताका अनुसार पुरानो बक्यौता असुली, बजार अनुगमन तथा करदाता सचेतना अभियानलाई प्रभावकारी बनाइएकाले वार्षिक लक्ष्यको ८८.४९ प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो।
कार्यालयका अनुसार आव २०८२/८३ मा अन्तःशुल्कतर्फ २ अर्ब ५५ करोड ७ लाख ३० हजार रुपैयाँ, आयकरतर्फ २ अर्ब ६ करोड ८२ लाख १ हजार रुपैयाँ र मूल्य अभिवृद्धि करतर्फ १ अर्ब २८ करोड ४० लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
त्यसैगरी, ब्याज करतर्फ ७ करोड ७८ लाख ३ हजार रुपैयाँ, बहाल करतर्फ ५ करोड २५ लाख ३७ हजार रुपैयाँ, स्वास्थ्य जोखिम करतर्फ ४ लाख ३१ हजार रुपैयाँ तथा अन्य शीर्षकबाट ३ करोड ४० लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले ४ अर्ब ९० करोड रुपैयाँ संकलन गरेको थियो। चालु आवका लागि भने ६ अर्ब ८५ करोड ७२ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो।
कार्यालयका अनुसार हाल व्यक्तिगत तथा व्यावसायिक गरी १ लाख ७३ हजार ९६८ करदाता दर्ता रहेका छन्। करदाताको घरदैलो अभियान, टेलिफोन तथा एसएमएसमार्फत ताकेता, कर छुटसम्बन्धी जानकारी प्रवाहलगायत कार्यक्रम सञ्चालन गरी १० करोड रुपैयाँभन्दा बढी पुरानो बक्यौता समेत असुल गरिएको कार्यालय प्रमुख गुप्ताले जानकारी दिए।