लेखक : भीमसेन लिम्बू (इलाम )
वर्ष बित्यो। दशैँ फेरि नजिकियो। गाउँगाउँमा चहलपहल सुरु भइसकेको थियो। कसैले घर रङ्गरोगन गर्दै थिए, कसैले आँगन सफा गर्दै थिए। बजारमा किनमेल गर्नेहरूको भीड बढ्दै थियो। सबैका आ–आफ्नै रहर र तयारी थिए।
सिराने काइँलालाई पनि दशैँ मनाउने रहर थियो, तर काइँलासँग रहर पूरा गर्ने सामर्थ्य थिएन। ज्याला मजदुरी गरेर परिवार धान्ने उसलाई चाड नजिकिँदै गर्दा खुसीभन्दा बढी खर्चको चिन्ता लाग्थ्यो।
दुई महिनाको ज्याला बुझेपछि काइँलो अष्टमीको अघिल्लो दिन बजार गयो। घरका बालबच्चाले खसी काट्ने रहर गरेका थिए। श्रीमती पनि वर्षौँपछि दशैँमा माइत जाने जिद्दी गरिरहेकी थिइन् । इष्टमित्र र पाहुनापातलाई आउने चाडमा मानमर्यादा राख्नुपर्ने दबाब पनि उत्तिकै थियो।
काइँलो कम खर्चमा दशैँ मनाउन चाहन्थ्यो। तर परिवारको रहर र समाजको चलनले उसको चाहनालाई थिचिरहेको थियो।
बजारमा खसीको मूल्य सुनेरै उसको मन खिन्न भयो। धेरै बेर मोलमोलाइ गरेपछि बल्लतल्ल तीस हजार रुपैयाँमा एउटा खसी किन्यो। दुई महिनाको पसिना एउटै खसीमा खर्च गर्दा गोजी रित्तियो। बालबच्चाको खुसी सम्झेर उसले मन बुझायो।
महँगीले सर्वसाधारणको जीवन कठिन बनाएको थियो। बजारमा किनमेल गर्दा काइँलाले पनि त्यसको मार खेप्यो। कालोबजारी र अनियन्त्रित मूल्यवृद्धिले दैनिक खर्च धान्नै मुस्किल बनाएको थियो।
किनमेल सकेपछि ऊ गाउँ फर्किने गाडीमा सामान चढाउन थाल्यो। गाडीमा भारी लोड भइसकेको थियो। खसीलाई गाडीको हुटमा चढाएर बाँधियो। गाउँ जाने गाडी छुट्ने तयारीमा थियो।
त्यत्तिकैमा हस्याङफस्याङ गर्दै एउटी महिला गाडीको नजिक आइपुगिन्।
“यो कसको हो? कसले यसरी राखेको?”
रिसको झोकमा बोल्दै आएकी ती महिला माननीय राधिका तामाङ थिइन्।
गाडी चढ्न लागेको सिराने काइँलो पछाडि फर्कियो। माननीयलाई देखेपछि हतारहतार हात जोड्दै भन्यो, “नमस्ते दिदी!”
“यो भाइ, तिम्रो हो?”
“हजुर, मेरै हो।”
काइँलाको उत्तर सुन्नासाथ राधिकाको अनुहार झन् गम्भीर भयो।
“किन यसलाई यसरी माथि बाँधेर राखेको? मार्ने भन्दैमा दयामाया नै बिर्सिने? यसलाई कति पीडा भएको होला? कहाँ लाने हो?”
“माफ पाऊँ दिदी, गाउँमा लैजाने हो।”
“गाउँमा? त्यति टाढा? यसरी नै लैजाने?”
राधिका गाडीको पछाडिबाट हुटतिर अलिकति उक्लिइन्। खसीको शरीरमा बाँधिएको डोरी र उसको असहज अवस्था देखेर उनी झन् आक्रोशित भइन्।
“हेर त! बिचरालाई कसरी बाँधेर राखेको! सरकार बदलियो, समाज कहिले बदलिने? पैसाका लागि जे पनि गर्छौ तिमीहरू?”
काइँलो चुपचाप उभिइरह्यो।
राधिकाले झोलाबाट पन्ध्र हजार रुपैयाँ झिकिन् र काइँलातिर फ्याँकिदिइन्।
“यो खसीको हालत देखेर मेरो मन थामिँदैन। यसलाई कस्तो भएको होला? यसरी लैजान पाउँदैनौ । खसी यहीँ झार।”
काइँलो एकछिन अक्क न बक्क भयो। खसीको पीडा देखेर माननीयको मनमा दया पलाएको थियो। तर आफ्नो खसी घर लैजान नपाउँदा आफूले भोग्नुपर्ने पीडाबारे कसैले सोचिरहेको थिएन।
उसले भुइँमा छरिएको पैसा टिप्यो र राधिकाको झोलामा राखिदियो।
“गल्ती भयो दिदी। माफ गर्नुहोस्।”
उसले हात जोडेर बिन्ती गरिरह्यो। माननीयसँग वादविवाद गर्ने आँट उसमा थिएन। घरमा खसी पुर्याउनुपर्ने बाध्यता थियो। भोलिपल्ट अष्टमी थियो। अब रित्तै घर फर्किनु उसका लागि सम्भव थिएन।
“दिदी, मैले दुई महिनाको ज्याला खर्च गरेर खसी किनेको हुँ। बालबच्चाले दशैँमा खसी काट्ने रहर गरेका छन्। श्रीमती पनि माइत जान्छु भनिरहेकी छे। जसरी भए पनि घर पुर्याउन दिनुहोस्।”
तर राधिका आफ्नो अडानबाट पछि हटिनन्।
“खसी लैजानै हुँदैन भनेकी होइन। राम्रो ढुवानीको व्यवस्था गर्नुपर्छ। यसरी बाँधेर लैजान मिल्दैन।”
काइँलोले फेरि बिन्ती गर्यो। तर माननीयको निर्णय फेरिएन। चालक र सहचालकले गाडीबाट खसी र काइँलाको सामान झारिदिए।
गाडी छुट्न ढिलो भइसकेको थियो। टाढाटाढाका गाउँमा पुग्नुपर्ने यात्रुहरू हतार गरिरहेका थिए। अन्ततः गाडी आफ्नो बाटो लाग्यो।
सडककिनारमा सिराने काइँलो आफ्नो सामान, खसीको डोरी र झोला समातेर उभिइरहेको थियो। नजिकै माननीय राधिका तामाङ थिइन्। उनीहरूलाई हेर्न केही मानिस जम्मा भएका थिए।
काइँलोको मनमा एउटै प्रश्न घुमिरहेको थियो—अब घर कसरी पुग्ने?
उसले फेरि राधिकालाई आफ्नो अवस्था सुनायो। दुई महिनाको ज्याला, बालबच्चाको रहर, श्रीमतीको माइत जाने इच्छा र अष्टमीको तयारीबारे बतायो।
“दिदी, खसी लैजान नपाए मेरो दशैँ बिग्रिन्छ। मैले के गर्नु?”
काइँलाको निराश अनुहार र असहाय आवाजले राधिकाको मन छोयो। उनी केही बेर चुप लागिन्।
अन्ततः उनले खसी लैजान अनुमति दिइन्। तर गाडीको हुटबाट होइन, राम्रो ढुवानीको व्यवस्था गरेर लैजानुपर्ने सर्त राखिन्।
काइँलालाई खसी लैजान पाउने भएपछि केही राहत भयो। तर अब कसरी लैजाने भन्ने अर्को चिन्ता थपियो। कुनै पनि चालक गाडीको सिटमा खसी राखेर लैजान मान्ने थिएनन्। माननीयले राम्रो ढुवानीको व्यवस्था गर्न भनेकी थिइन्।
काइँलाले अटो रिजर्भ गर्ने निर्णय गर्यो।
दशैँको बेलामा अटो भाडा त्यसै महँगो थियो। गाउँको अप्ठ्यारो र टाढाको कच्ची बाटोमा कम भाडामा जान चालकहरू मान्दैन थिए । नानीहरूको रहर र श्रीमतीको माइत जाने खुसी सम्झिएर काइँलोले पाँच हजार रुपैयाँमा अटो रिजर्भ गर्यो ।
माननीय राधिका तामाङ त्यहाँबाट गइसकेकी थिइन्। रमिता हेर्न जम्मा भएका मानिसको भीड पनि पातलिँदै गयो ।
काइँलो र अटो चालकले सामान अटोमा लोड गरे। दुवै जना चढेपछि अटो गाउँ जाने बाटोतिर हुइँकियो।
बजार सकिनै लाग्दा काइँलाले छेउको ठूलो व्यापारीको पसलअगाडि अटो रोक्न लगायो। ऊ ओर्लिएर साहुलाई नमस्कार गर्दै पसलभित्र पस्यो। केही बेर कुराकानीपछि पाँच हजार रुपैयाँ लिएर फर्कियो।
किनमेल गर्दा काइँलाको सबै पैसा सकिएको थियो। गोजीमा गाडीभाडाका लागि मात्र केही पैसा उबारेको थियो। अटो रिजर्भ गर्नुपर्ने भएपछि त्यति पैसाले पुग्ने कुरै थिएन। त्यसैले उसले साहुसँग सिजन लागेपछि अदुवा दिने सर्तमा पाँच हजार रुपैयाँ सापटी लिएको थियो।
अटो फेरि गुड्न थाल्यो। उकालोओरालो, खोला, खोल्सा र घुम्तीहरू छिचोल्दै गाउँको कच्ची बाटोमा ओरालो लाग्यो। देउराली डाँडा काट्दा साँझ पर्न थालिसकेको थियो।
घण्टौँ लामो यात्रामा काइँलाको मनमा बजारको घटना घुमिरह्यो। खसी घर पुर्याउन पाएकोमा उसलाई केही राहत थियो। तर पाँच हजार रुपैयाँ ऋण थपिएको पीडा पनि कम थिएन।
उसले सोच्यो—खसीलाई हुटबाट लैजान पाएको भए हजार रुपैयाँमै काम चल्थ्यो। अब पाँच हजार रुपैयाँ ऋण लाग्यो। त्यो ऋण तिर्न फेरि अदुवा बेच्नुपर्ने भयो ।
अटोको झ्यालबाट बाहिर हेर्दै उसले माननीय राधिका तामाङको व्यवहार सम्झियो। खसीप्रति उनको दया उसले बुझेको थियो। तर आफ्नो बाध्यता बुझाउन किन यति धेरै बिन्ती गर्नुपर्यो भन्ने प्रश्नले उसको मन खिन्न बनाइरहेको थियो।
भोलिपल्ट सामाजिक सञ्जालभरि अघिल्लो दिनको घटना फैलियो। घटनाका साक्षीहरूले माननीय तामाङ र काइँलाको भिडियो बनाएका थिए।
भिडियो फैलिनासाथ मानिसहरूले अनेक किसिमका टिप्पणी गर्न थाले। कसैले राधिकालाई गाली गरे, कसैले पशुप्रतिको करुणाको पक्ष लिए। कसैले गरिब मानिसको बाध्यता नबुझी निर्णय गरेको भन्दै उनलाई दोष दिए। सिराने काइँलाको सहनशीलता र शान्त व्यवहारको प्रशंसा पनि भयो।
काइँलालाई माननीय तामाङलाई गाली गर्न मन नलागेको होइन। तर माननीयजस्तो व्यक्तिलाई मुख छाडेर झमेलामा फस्नुभन्दा उसले आफ्नो विवेक प्रयोग गर्यो। हात जोड्दै बिन्ती गर्यो र माफी मागिरह्यो।
काइँलाको त्यही व्यवहारको खुबै तारिफ भयो। तर उसको प्रशंसा भइरहँदा उसले बेहोरेको आर्थिक क्षतिको चर्चा भने कमै भयो। पाँच हजार रुपैयाँ ऋण लिएर खसी घर पुर्याउनुपरेको कुरा धेरैको ध्यानमा आएन।
राधिकाको आलोचना हुनुको कारण आर्थिक क्षति मात्र थिएन। उनले समाजको एउटा स्थापित संस्कृतिमाथि पनि प्रश्न उठाएकी थिइन्।
दशैँमा अष्टमीका दिन पशुबली दिने चलन छ। धेरैका लागि त्यो धार्मिक आस्था र सामाजिक परम्पराको हिस्सा हो। त्यस्तो संस्कृतिमाथि प्रश्न उठाउनु नै माननीय तामाङको सबैभन्दा ठूलो भुल मानियो।
विजयादशमीलाई सत्य र न्यायको जितको दिन भनिन्छ। रामले रावणलाई परास्त गरेको दिनका रूपमा यसलाई सम्झिइन्छ। तर पशुप्राणीको पीडाबारे प्रश्न उठाउने राधिकाले भने समाजको आलोचना सहनुपर्यो।
राधिकाको पशुप्रतिको करुणा गलत थिएन। खसीलाई असहज अवस्थामा बाँधेर लैजानु उचित पनि थिएन। तर करुणा देखाउने क्रममा काइँलाको आर्थिक अवस्था र बाध्यतालाई बेवास्ता गर्नु पनि उचित थिएन।
राधिकाले खसीको पीडा देखिन्, तर काइँलाको पीडा बुझ्न सकिनन्। काइँलोले आफ्नो पीडा सह्यो, तर खसीको पीडाबारे सोच्ने फुर्सद पाएन।
सामाजिक सञ्जालमा राधिकालाई गाली गर्नेहरूमा पनि दया, माया र करुणा थियो कि थिएन भन्ने प्रश्न उठ्छ। पशुप्रतिको करुणाको पक्षमा उभिने मानिसले गरिब मानिसको बाध्यता बुझ्न नसक्दा करुणा अपूरो हुँदैन र?
परम्परा र परिवर्तनबीच समाजमा सधैँ द्वन्द्व रहन्छ। तर परिवर्तनको माग गर्दा मानिसको आर्थिक अवस्था र जीवनयापनको बाध्यतालाई पनि बुझ्नुपर्छ। पशुप्रतिको दया र गरिब मानिसप्रतिको संवेदना एकअर्काका विरोधी होइनन्।
सिराने काइँलोले सास्ती बेहोर्नुपरे पनि अन्त्यमा खसी घर पुर्यायो। बालबच्चाको रहर पूरा भयो। श्रीमती माइत जाने तयारीमा लागिन् । तर काइँलाको गोजीमा पाँच हजार रुपैयाँ ऋण थपियो।
दशैँको खसी घर त पुग्यो, तर त्यसको मूल्य काइँलाले ऋण थपेर चुकाउनुपर्यो।
त्यो दशैँमा खसीको पीडा कम भयो कि भएन, काइँलाको पीडा कम भयो कि भएन—यो प्रश्न समाजकै अगाडि बाँकी रह्यो।