साहित्य

कथा : क्रान्तिचक्र

Pariwartanka Lagi aawaj September 30, 2026 1 मिनेट पढ्न 0 टिप्पणी

लेखक : भीमसेन योङ्हाङ् लिम्बू

ब्रह्माण्डको एउटा सौर्यमण्डलमा पृथ्वी नाम गरेको एक सुन्दर ग्रह थियो। पृथ्वीमा गगनचुम्बी पहाडहरू र सम्म फाँटहरू छपक्कै छोपेको विशाल घना जङ्गल थियो। जङ्गलको बीचबाट बगेको खोला जन्तु–जनावरहरूको जीवन बनेको थियो। चराचुरुङ्गीहरू समय–समयका समाचारहरू सम्प्रेषण गर्दै लेक–बेँसी उडान भरिरहेका थिए। खोला–खोल्साको खोपबाट उडिरहेको तुवाँलोलाई हेर्दै खरायोहरूको हूल रमाउने गर्दथ्यो।

दुम्सी, बँदेल, मृग, जरायो, नीलगाई र अर्ना–भैँसीले सन्तानको लालनपालन र रेखदेख गरिरहेका थिए। मिहिनेती माहुरीहरू मिठो मह भेला पार्न व्यस्त थिए। जङ्गलमा स्याल, फ्याउरा, बन्ढारे र खिर्खिरे पनि थिए। उनीहरू जङ्गलमा केही न केही उपद्रो गरिरहन्थे। सोझा जीवजन्तुहरूलाई उनीहरूले खुबै दुःख दिएका थिए।

एक दिन खोलापारिबाट एउटा भयंकर भीमकाय सिंह जङ्गलमा आयो। लामालामा झ्याम्मै कपाल भएको त्यो भीमकाय सिंह ज्यादै डरलाग्दो थियो। भयंकर सिंहलाई देख्नेबित्तिकै बाँदरहरू ठाउँको ठाउँ बेहोस हुने गर्थे। सिंहको गर्जनले पूरै जङ्गल गुञ्जने गर्दथ्यो। सिंहको डरले कमजोर आँट भएका लोथर्के र काला जस्ता जन्तुहरूको हृदयघात भई मृत्युसमेत हुने गर्दथ्यो।

सिंहले आफूलाई जङ्गलको राजा भएको सम्झने गर्थ्यो। राजाको आज्ञा जङ्गलका सबै जन्तुले पालना गर्नुपर्ने सिंहको मान्यता थियो। स्याल, फ्याउरा, बन्ढारे र खिर्खिरे निक्कै चलाख थिए। उनीहरूले आफ्नो ज्यान बचाउन सिंहको शरण परेका थिए। उनीहरूलाई राजासामु मिठो भोजन टक्र्याउने जिम्मा दिइएको थियो।

जन्तु समाजमा डर पैदा गराएर सिंहले क्रूर शासनसत्ता सम्हालिरहेको थियो। राजाले प्रत्येक दिन जन्तु समाजको एक सदस्य सिंह राजाको भोजन बन्नुपर्ने कानुन बनाएको थियो। कानुनको उल्लङ्घन गरेको खण्डमा पनि सिंह राजाको भोजन बन्नुपर्ने थियो।

एक दिन, दुई दिन गर्दै केही समय बितिसक्दा जङ्गलका थुप्रै जनावरहरूको सङ्ख्या अत्यधिक कम भइसकेको थियो। प्रत्येक दिन ठूला जनावर भए एक जना र साना जनावर भए दुई जना गरेर जीवजन्तुले राजाको भोजन बन्नुपर्ने थियो।

सिंह राजाले आफ्नो सुसारे स्याल, फ्याउरा, बन्ढारे, खिर्खिरे र गुप्तचर कागलाई पनि आफ्नो खानाको केही हिस्सा दिएर वफादार रहन लोभ्याएका थिए। राजाले खानाका लागि धेरै जन्तुहरूको हत्या गरिसकेपछि जङ्गलमा जताततै अशान्ति छाएको थियो।

प्रत्येक दिन दुई जनाका दरले भीमकाय राजाको भोजन बन्नुपर्दा साना जन्तु दुम्सी, खरायो, लोथर्के र बाँदरहरू मासिन लागेका थिए। मृग, जरायो, नीलगाई र अर्ना–भैँसीका सन्तानहरू पनि राजाले आफ्नो भोजन बनाइसकेको थियो। जन्तु समाज डर र शोकमा गुज्रिएको थियो।

कुनै पनि जीवजन्तु र पन्छीहरू जङ्गलदेखि टाढा बसाइँ सरेर जाने तयारीमा थिए भने थुप्रै जनावर बसाइँ सरेर गइसकेका थिए। कुनै पनि जन्तुमा सिंह राजाको विरुद्ध बोल्ने साहस थिएन।

साना जन्तुहरूलाई चरम शोषण र भेदभाव गरिएको थियो। दुम्सी र खरायो बस्ने दुलाहरू सिंहले कब्जा गरिसकेको थियो। जुनसुकै बेला पनि दुम्सी र खरायोहरूलाई दुलोबाट झिकेर छाला उतारी सिंह राजाले भोजन बनाउन सक्थ्यो।

बाँदरहरूले पनि ज्यादै दर्दनाक स्थितिको सामना गरिरहेका थिए। अर्ना–भैँसी, नीलगाई, मृग र जरायो थोरै ठूला जन्तु भएकाले उनीहरूमध्ये दैनिक एक जना मात्र राजाको भोजन बन्नुपर्थ्यो। त्यसैले उनीहरूको सङ्ख्या अरू साना जन्तुको भन्दा थोरै बढी थियो।

तर पनि जङ्गलमा पशुपन्छीको सङ्ख्या ज्यादै कम भइसकेको थियो। जनावरहरूले जीवन धान्नलाई धेरै कष्ट गर्नुपर्थ्यो। माहुरीहरूले पनि पहिलेको तुलनामा मह भेला पार्न सकिरहेका थिएनन्। जन्तुहरूको सङ्ख्या कम भएकाले वनमा पशुले गर्ने खेतीपाती पनि हुन छोडेको थियो। जङ्गलमा फलफूल, कन्दमूल केही पनि नपाउने अवस्था थियो। भीमकाय सिंह राजाको क्रूर शासन र भोकमरीको चपेटामा परेर जीवजन्तुहरू मरिरहेका थिए।

जङ्गलमा जीवजन्तुको सङ्ख्या कम हुन पुगेकाले सिंह राजाको भोजनमा कमी आउन थाल्यो। सिंह राजा ज्यादै जिद्दी र घमण्डी थियो। उसले आफ्नो सुसारे स्याल, फ्याउरा, बन्ढारे र खिर्खिरे सबैलाई खाना कम ल्याएको भन्दै गाली–बेइज्जत गर्न थाल्यो। उनीहरूलाई सिंह राजाले खाना दिन पनि छोडिसकेको थियो। राजाको गुप्तचर कागले पनि पारिश्रमिक पाउन छोड्यो।

भीमकाय सिंह तानाशाही प्रवृत्तिको भइसकेको थियो। जङ्गलमा सिंहलाई कुनै पनि जीवजन्तुले मन पराउँदैनथे। सिंहको ज्यादती सहन नसकेर जङ्गलका चलाख स्याल, फ्याउरा, बन्ढारे र खिर्खिरेहरूले सबै जीवजन्तुसँग मिलेर विद्रोह गर्ने निर्णय गरे।

जङ्गलमा उपद्रो गर्ने स्याल, फ्याउरा, बन्ढारे र खिर्खिरे समूहको विश्वास नलागे पनि तानाशाही भीमकाय सिंहको अन्त्य हुने आशाले ‘मर्नुभन्दा बौलाउनु बेस’ सम्झेर डरपोक जीवजन्तुहरूले सिंह राजाको विरुद्ध विद्रोह गर्ने साहस जुटाए।

शान्ति, न्याय, हक र स्वतन्त्रताका लागि जङ्गलका चलाख स्याल, फ्याउरा, बन्ढारे र खिर्खिरे समूहको नेतृत्वमा जङ्गलका सारा जनावरहरू तानाशाही सिंहको विरुद्ध विद्रोह गर्ने निष्कर्षमा पुगे। जीवजन्तुहरू डरमुक्त भएर बाँच्न चाहन्थे। उनीहरू भीमकाय सिंहको सामना गर्न पनि तयार भए।

त्योभन्दा अगाडि कुनै पनि जनावरहरूले सिंहको विरुद्ध विद्रोह गर्ने साहस देखाएका थिएनन्। सबै जीवजन्तुहरू डरले सिंहको गुलामी गरी कष्टकर जीवन बिताइरहेका थिए। पहिलो पटक जनावरहरूले सिंहको अत्याचारमाथि विद्रोह गरे।

चलाख स्याल, फ्याउरा, बन्ढारे समूहको गोप्य रणनीति र जङ्गलका सारा जनावरहरूको एकताले अन्ततः सिंह राजाको सत्तालाई ढालेरै छाड्यो। जङ्गलका जनावरहरूले सिंह राजालाई भोजनको कमी गराएर ज्यादै कमजोर बनाएका थिए। जङ्गलका जीवजन्तुहरूमा डर हराइसकेको थियो। सबै जनावरहरूमा साहस देखिन्थ्यो।

सिंह राजाको सत्ता गिराउन गरिएको संघर्षका क्रममा थुप्रै जीवजन्तुले वीरगति पाए पनि सिंह राजाको सत्ता गिराएको दिन जङ्गलका सारा जीवजन्तुले पहिलो पटक स्वतन्त्रता पाएको महसुस गरेका थिए। शान्ति, न्याय र हकलाई स्वागत गरिरहेका जन्तुहरूको उत्साहित क्षण अविस्मरणीय थियो।

सिंहको वफादार कागले भने जङ्गलभरि ‘राजा आउँछ, राजा आउँछ’ भन्दै समाचार फैलाइरहेको थियो। कुनै पनि जीवजन्तुले कागको वास्ता गरेनन्। सबै जनावरहरू ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्ने उखान भन्दै जङ्गलमा शान्ति ल्याउन, अमनचयन कायम गराउन र आफ्नो सत्ता बनाउन थाले।

जङ्गलमा विद्रोहको नेतृत्व गरेका चलाख स्याल, फ्याउरा, बन्ढारे र खिर्खिरे समूहलाई नयाँ जन्तु सत्ताको मुखिया बनाइयो। जङ्गलका सारा जीवजन्तुले जन्तु सत्ताबाट शान्ति, न्याय, हक, सुशासन, स्वतन्त्रता र सुरक्षाको अपेक्षा राखेका थिए।

जङ्गलमा समावेशितामूलक जन्तुवादलाई आधारबिन्दु बनाएर जन्तु सत्ताको जग खडा भयो। जङ्गलमा सबै जीवजन्तुहरूले जङ्गल र जन्तु समाजमा योगदान पुर्‍याउन पाउने न्यायोचित कानुनहरू बने। जन्तु समाजमा निर्वाचनको प्रक्रियालाई स्थायित्व दिँदै दुईतिहाइ बहुमत पुर्‍याउने जनावरलाई मुखिया घोषणा गरिन्थ्यो।

भीमकाय सिंहको सत्ताको अन्त्यपछि सत्तामा पुगेका चलाख स्याल, फ्याउरा, बन्ढारे र खिर्खिरे समूह धेरै शक्तिशाली भइसकेका थिए। जङ्गलको सबै शासनसत्ता उनीहरूकै हातमा थियो। तर उनीहरूले पनि बराबर कानुनको पालना गर्नुपर्थ्यो।

स्याल, फ्याउरा, खिर्खिरे र बन्ढारेहरूलाई पनि बाँच्नका लागि मासु नै चाहिने भएकाले उनीहरूलाई मरेका जीवहरू खान पाउने कानुन जन्तु समाजले बनाइदिएको थियो। तर फटाहा स्याल, फ्याउरा, बन्ढारे र खिर्खिरे समूह स्वार्थी बन्दै गए। उनीहरूले बिस्तारै कानुनको उल्लङ्घन गर्न सुरु गरे।

उनीहरूलाई प्रश्न गर्ने हरेक जीवलाई निर्ममताका साथ कडा–भन्दा–कडा कारबाही गर्न सुरु गरियो।

स्याल, फ्याउरा, बन्ढारे र खिर्खिरे समूहको आतंक जङ्गलमा फेरि बढ्न सुरु भयो। उनीहरूले स–साना जीवजन्तु र जनावरहरूका बच्चाहरूको सिकार गरी भोजन बनाउन थाले। जङ्गलमा ज्यादती बढेसँगै फेरि अशान्ति छायो।

अल्पसङ्ख्यक दुम्सी र खरायोहरूले कहिल्यै बहुमत प्राप्त गर्न नसकेको कारण उनीहरूले जङ्गलको मुखिया बन्न कहिल्यै पाएनन्। सीमान्तकृत दुम्सी, खरायो, लोथर्के र बाँदर समूहहरूले कहिल्यै न्याय पाएनन्। अन्यायमा परेका पिँधका जनावरहरूलाई शासकहरूले सधैँ पिँधमै पारिरहे। उनीहरू फेरि शासकहरूको सिकार बन्न पुगे। शासकहरूद्वारा पिँधका जनावरहरूलाई सधैँ पिँधमा राखियो।

तानाशाही सिंहलाई सत्ताबाट हटाउँदाको उत्साह झाँगिन नपाउँदै जङ्गलमा घनघोर अशान्ति छायो। जनावरहरूको आशा निराशामा परिणत हुन थाल्यो।

जङ्गलभरि कागले ‘राजा आयो, राजा आयो’ भन्न सुरु गरेको थियो। सिंह राजाको गुप्तचर भएकाले जङ्गलका सबै जनावरहरूले कागलाई सिंह सत्ताको अन्त्य भएको शोकमा पागल भएको मात्र सम्झिने गर्थे। तर कागले ‘राजा आयो, राजा आयो’ भन्दै स्याल, फ्याउरा, बन्ढारे र खिर्खिरे शासक समूहलाई सङ्केत गरेको थियो।

कागले जङ्गलको राजनीतिलाई बुझ्न थालिसकेको थियो। किनकि तानाशाही भीमकाय सिंह राजाको पालादेखि स्याल, बन्ढारे सबैको शासनसत्ता उसले बुझेको थियो। त्यत्रो संघर्ष र विद्रोहपछि पनि फेरि जङ्गलमा अन्याय बढेको थियो। त्यसको विरुद्ध कसैले विद्रोह गर्‍यो भने राम्रो हुने सोच्दथ्यो।

तर काग आफैँ भने जङ्गलमा बढेको अन्यायको विरुद्ध विद्रोह गर्न सक्दैनथ्यो। किनकि काग पन्छी थियो। कागसँग उड्ने क्षमता थियो, तर ठूला जनावरहरूसँग भिड्ने तागत थिएन।

समय बित्दै जाँदा जङ्गलमा बढेका निराशाहरू जीवजन्तुको रिस बनिसकेका थिए। फलस्वरूप भीमकाय सिंह सत्तालाई गिराउन सफल भएका जनावरहरूले जन्तुवादका क्रूर मुखियाहरूलाई पनि सत्ताबाट हटाउने निधो गरे।

जङ्गलका सबै जनावरहरूमा पहिले नै डर हटिसकेको थियो। जनावरहरूले अत्याचारको विरुद्ध खरो उत्रिन सिकिसकेका थिए। नयाँ शासकहरूको सबै चुनौतीलाई परास्त पार्दै जङ्गलका जनावरहरूले फेरि अत्याचारको विरुद्ध कठिन संघर्ष गरे।

शासकहरूको अत्याचारविरुद्ध भएको संघर्षका क्रममा फेरि पनि थुप्रै जनावरले वीरगति पाए तापनि भीमकाय सिंहको सत्ता गिराउने जनावरहरूले जन्तुवादको आडमा बनेको नाथे स्याल, फ्याउरा, बन्ढारे र खिर्खिरे समूहको सत्ता गिराउन कतिपनि समय लगाएनन्।

साहसी जनावरहरूले फेरि एउटा क्रूर सत्ताको अन्त्य गरिसकेका थिए। थुप्रै जनावरहरू हर्षोल्लासमा थिए भने थुप्रै जनावरहरू चिन्तित थिए। तर जनावरहरूको चिन्ता यस मानेमा थियो कि उनीहरूले धेरै अगाडि पनि क्रूर शासकको सत्ता गिराएका थिए। तर जीवजन्तुको आशा निराशामै परिणत भएको थियो।

तत्कालै दोस्रो क्रूर शासक समूहको सत्ता हटाएपछि पनि जनावरहरूको आशा फेरि निराशामा परिणत हुने हो कि भन्ने चिन्ता देखिन्थ्यो।

भयंकर संघर्षपछि जङ्गलमा जीवजीवन सहज बनाउन शान्ति स्थापित गर्ने समय भयो। सीमान्तकृत जनावर दुम्सी, खरायो, लोथर्के र बाँदरहरूले आफ्नो न्याय र अधिकार सुनिश्चित गर्न मोर्चाहरू बनाउन सुरु गरिरहेका थिए। उनीहरू पहिले जसरी अल्पमतमा पर्न चाहँदैनथे।

अरू जनावरहरू पनि आफ्नो हक र अधिकार सुनिश्चित गर्दै जङ्गललाई विधिअनुसार समृद्ध बनाउन वन सरकार बनाउने तयारी गरिरहेका थिए।

यस्तो विषम परिस्थितिमा खोलापारिबाट उहिले जङ्गलका जनावरहरूले धपाएको सिंह ‘म तिमीहरूको राजा हुँ’ भन्दै गर्जिने गर्दथ्यो।

भीमकाय सिंह फेरि जङ्गलमा शासन गर्न चाहन्थ्यो। स्याल, फ्याउरा, बन्ढारे र खिर्खिरे पनि मौका छोपेर जङ्गलमा शासन गर्न चाहन्थे। जङ्गलका जनावरहरू सिंह, स्याल, फ्याउरा, बन्ढारे र खिर्खिरेजति शक्तिशाली थिएनन्। त्यसैले जनावरहरूको वन सरकार कमजोर बनेको थियो।

वन सरकारको कमजोरीलाई अवसर बनाउँदै क्रूर शासकहरू जङ्गलमा शासन गर्न वन सरकार हत्याउन कोसिस गरिरहेका थिए। जङ्गलका अन्य जनावरहरू जङ्गलमा भएका कुनै पनि प्रतिगामी कदमहरूको प्रतिरोध गरिरहेका थिए।

तर जनावरहरूमा भीमकाय सिंह राजा र क्रूर मुखिया शासकहरूजति तागत र राजनीतिक चेतना नभएकाले अन्ततः जनावरहरूले भयंकर संघर्षहरूमा विजय पाएर पनि न्यायको अनुभूति गर्न पाउँदैनथे।

जनावरहरूले सधैँ प्रतिरोध र संघर्ष गरिरहनुपर्थ्यो। अन्यायमा पर्दा होस् अथवा संघर्ष गर्दा, जनावरहरूले नै ज्यान गुमाउनुपर्थ्यो। अन्याय र अत्याचारमा पर्दा क्रूर शासकहरूको सत्ता गिराउने जनावरहरूले जङ्गलमा निर्णायक सत्ता कहिल्यै निर्माण गर्न पाएनन्।

जनावरहरूले न्याय र अधिकारदेखि सधैँका लागि वञ्चित हुनुपर्‍यो। जङ्गलमा जीवजन्तुहरूको संघर्ष र क्रान्तिको चक्र चलिरह्यो।

जङ्गल संघर्ष र क्रान्तिको घनघोर चक्रव्यूहमा फसिसकेको थियो। जनावरहरूसँग न्याय, हक र स्वतन्त्रताका लागि संघर्ष र क्रान्ति गर्नुबाहेक अरू विकल्प थिएन।

अन्यायमा पर्दा होस् अथवा संघर्ष गर्दा, जनावरहरूले नै ज्यान गुमाउनुपर्थ्यो। अन्याय र अत्याचारमा पर्दा क्रूर शासकहरूको सत्ता गिराउने जनावरहरूले जङ्गलमा निर्णायक सत्ता कहिल्यै निर्माण गर्न पाएनन्।

जनावरहरूले न्याय र अधिकारदेखि सधैँका लागि वञ्चित हुनुपर्‍यो।

जङ्गलमा जीवजन्तुहरूको संघर्ष र क्रान्तिको चक्र चलिरह्यो।

समाप्त !!

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *