
पाँचथरको फिदिममा लामो समयपछि ठूलो सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। ‘पाँचथर म्युजिक एन्ड टुरिजम फेस्टिभल–२०८३’ अन्तर्गत असोज २३ गते फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा ‘केहर द लुङ्वा’ ब्यान्डको लाइभ कन्सर्ट हुने भएको हो। फिदिमस्थित गड ब्लेसिङ क्लबमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक मिलनसार प्रोडक्सनले कार्यक्रमको तयारीबारे जानकारी दिएको हो। आयोजकका अनुसार गायक केहर सिंह लिम्बू नेतृत्वको ‘केहर द लुङ्वा’ ब्यान्डले पहिलोपटक पाँचथरमा आफ्नो प्रस्तुति दिन लागेको हो। पर्यटनसँग संगीतलाई जोड्दै जिल्लाका पर्यटकीय गन्तव्य, स्थानीय कला तथा संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा ब्यान्डको विशेष प्रस्तुति साथै स्थानीय कलाकारहरूको समेत सांगीतिक प्रस्तुति रहने बताइएको छ। ‘केहर द लुङ्वा’का पछिल्ला गीतहरू पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय छन्। ‘डोको बुन्ने निगालो चोया’ लगायतका गीतमार्फत चर्चामा रहेको ब्यान्डको प्रस्तुतिले फिदिमको सांगीतिक माहोललाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ। मिलनसार प्रोडक्सन मुख्य आयोजक र चोलुङ स्टुडियो सह–आयोजक रहेको फेस्टिभलले पाँचथरको पर्यटन, कला र सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरसम्म पुर्याउने लक्ष्य राखेको आयोजकको भनाइ छ।