अन्य

टेबलमै बसेर अनुगमन भत्ता पचाउनेले बुझेनन् मुकेशको सपना!

Pariwartanka Lagi aawaj October 8, 2026 1 मिनेट पढ्न 0 टिप्पणी
टेबलमै बसेर अनुगमन भत्ता पचाउनेले बुझेनन् मुकेशको सपना!

हुन त कार्यालयमै बसेर खेलमैदानमै नटेकी अनुगमनको भत्ता पचाउनेहरूले मुकेश पीठाकोटे वैदेशिक रोजगारीका लागि जानुले नगर, जिल्ला र देशको खेलकुद क्षेत्रमा कति घाटा भयो भनेर सोच्नुपर्ने हो।

खेलाडी मैदानमा पस्दा ताली बजाउने, जित्दा सम्मान गर्ने र पदक आउँदा फोटो खिचाउने प्रवृत्तिले मात्र खेलकुदको विकास हुँदैन। खेलाडीलाई वर्षौंसम्म प्रशिक्षण, प्रतियोगिता, पोषण, उपकरण र आर्थिक सुरक्षाको आवश्यकता हुन्छ। तर, खेलाडीले आफ्नो भविष्य सुरक्षित देख्न नसकेर अन्ततः वैदेशिक रोजगारी रोज्नुपर्ने अवस्था आउँछ भने त्यो केवल एउटा खेलाडीको व्यक्तिगत निर्णय होइन, हाम्रो खेलकुद प्रणालीले भोगिरहेको असफलताको संकेत हो।

खेलकुद यस्तो विधा हो, जहाँ पर्याप्त प्रायोजनमार्फत व्यवसायदेखि अन्य विभिन्न क्षेत्रसमेत जोडिने सम्भावना हुन्छ। खेलाडी र खेलकुदकै कारण कसैले चटपटे बेचेका हुन्छन्, कसैले चना–अण्डा बेचेर जीविकोपार्जन गरेका हुन्छन्। एउटा खेलाडीले मैदानमा अवसर पाउँदा त्यसको प्रभाव मैदानबाहिरको सानो व्यवसायदेखि होटल, यातायात, पोसाक, खेल सामग्री र स्थानीय अर्थतन्त्रसम्म पुग्न सक्छ। तर, यति गहिरिएर हेर्ने न सरकार छ, न त उनीहरूका सहयोगी नै।

सरकारले झिनो पहल मात्रै गरेको भए हिजोका दिनमा भलिबल खेलाडीहरू सीताराम बस्नेत र राम बस्नेत विदेशिनुपर्ने थिएन, न त आज मुकेश नै विदेशिनुपर्ने अवस्था आउने थियो। प्रतिभा उत्पादन गर्ने तर प्रतिभालाई टिकाउन नसक्ने संरचना आखिर कस्तो विकास हो? खेलाडी विदेश जान बाध्य भएपछि मात्र समस्या देख्ने हो भने भोलि मैदानमा खेलाडी खोज्नुपर्ने अवस्था आउन सक्छ।

खेलाडीलाई सम्मान गर्ने भनेको माला लगाइदिनु, प्रमाणपत्र थमाइदिनु वा सामाजिक सञ्जालमा शुभकामना लेख्नु मात्र होइन। उनीहरूलाई खेलबाटै आफ्नो भविष्य बनाउन सक्ने वातावरण निर्माण गर्नु हो। नियमित प्रतियोगिता, पारदर्शी प्रोत्साहन, प्रशिक्षणको निरन्तरता, उचित पूर्वाधार, स्वास्थ्य तथा बीमा सुविधा, प्रायोजन र खेलाडीको आर्थिक सुरक्षाबारे स्थानीय सरकार गम्भीर हुनैपर्छ।

यो घटनालाई केही खेलाडी वैदेशिक रोजगारीमा गए भन्ने रूपमा मात्रै कदापि हेर्नु हुँदैन। यसले पार्ने दीर्घकालीन प्रभाव र स्थानीय सरकारले खेलकुद तथा खेलाडीलाई कुन रूपमा हेर्छ भन्ने कुरा पनि यसबाट स्पष्ट हुन्छ।

आज एउटा मुकेश विदेशिँदैछन्। प्रश्न यो हो, भोलि कति मुकेशहरू आफ्नै माटोमा भविष्य नदेखेर विदेशिनुपर्ने हो?

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *