साहित्य

कथा : बतासे गाउँपालिका–४, उराठ्ठे गाउँ

Pariwartanka Lagi aawaj October 16, 2026 1 मिनेट पढ्न 0 टिप्पणी
कथा : बतासे गाउँपालिका–४, उराठ्ठे गाउँ

लेखक : भीमसेन लिम्बू

२०८२ असोज १८ गतेको भारी वर्षाले बतासे गाउँपालिका–४, उराठ्ठे गाउँमा पनि ठूलो क्षति पुर्‍यायो। असारमा रोपेको धानमा बाला निस्किन नपाई नष्ट भयो। गाउँले सबैलाई अनिकालको चिन्ताले सताइरहेको थियो। बाढीपहिरोले सिँचाइ कुलो पनि जीर्ण बनाएको थियो। बचेकुचेको धानमा पनि सिँचाइ पुर्‍याउन नसक्दा अन्न नफल्ने पीर गाउँलेहरूमा कम थिएन।

उसो त सरकारले बाढीपीडितलाई राहत वितरण गरेको थियो। उराठ्ठे गाउँका गाउँलेहरू पनि बाढीपहिरोमा परेर मरेका भए राहत पाउन योग्य हुने थिए। तर धान मात्र नष्ट भएकोले सरकारले पनि गाउँलेहरूलाई राहत दिएन। बाढीपहिरोमा परेर मर्न नसकेका गाउँलेहरू वर्षभरि भोकभोकै मर्न बाध्य भए। गाउँ र गाउँलेको मौन पीडा कसैले बुझ्न सकेनन्।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले नेपाली राजनीति र इतिहासमा ठूलो सङ्कट निम्त्याएको थियो। पार्टीहरू लोकप्रिय बन्न तल्लीन थिए, किनकि सबै पार्टीलाई आगामी चुनावमा आफ्नो सरकार बनाउनु थियो। उराठ्ठे गाउँका गाउँलेहरूलाई भने सरकारको चासो लाग्न छोडेको थियो। उनीहरू मरितरी गरेर बचेकुचेको धान बचाउन र भोकसँग लड्न व्यस्त थिए।

गाउँलेहरूले सरकारबाट आशा गर्न छोडिसकेका थिए। आफ्नै श्रमले केही सिँचाइ कुलोहरू मर्मत गरेर गाउँलेहरूले अलिकति धान भिजाए। तर गाउँको धेरैजसो खेतमा पानी नपुग्दा वर्षापछि लागेको टन्टलापुर घामले धान मर्न थालेको थियो। उराठ्ठे गाउँका गाउँलेहरूका लागि यो वर्ष श्रापजस्तै भएको थियो। ती खेतहरूमा पानी पुर्‍याउने सिँचाइ कुलो थोरै लागतले मर्मत नहुने गरी क्षतिग्रस्त भएको थियो। क्षतिग्रस्त सिँचाइ कुलोले गाउँमा पर्न सक्ने अनिकाल र मृत्युको सम्भावना स्पष्ट देखाएको थियो।

उराठ्ठे गाउँमा क्षतिग्रस्त सिँचाइ कुलो नै सबैभन्दा ठूलो समस्या भएको थियो। सिँचाइ कुलोले धानलाई मात्र नभएर गाउँलेहरूलाई पनि जीवन दिएको थियो। खेतमा पानीको हाहाकार भएपछि गाउँलेहरूका लागि कुलो नै भगवान्समान भएको थियो। अनेक सङ्कटबाट बच्दै आएका गाउँलेहरू नजिकिँदै गरेको अनिकाल र भयानक मृत्यु देखेर हार मानेनन्। बरु गाउँलेहरूले सिँचाइ कुलो मर्मत गरेर अनिकालसँग लड्ने र मृत्यु नस्विकार्ने निर्णय गरे। गाउँलेहरूले सिँचाइ कुलो मर्मतका लागि श्रम जुटाउन सुरु गरे।

आफ्नो पार्टी र आफूलाई लोकप्रिय बनाउन तछाडमछाड गर्दै हिँडेका बतासे गाउँपालिका अध्यक्षसम्म गाउँलेहरूको समस्या पुग्यो। उराठ्ठे गाउँको समस्या जटिल थियो। पालिका अध्यक्षलाई पार्टी र आफूलाई लोकप्रिय बनाउने यही सही मौका लाग्यो। गाउँपालिका अध्यक्षले उराठ्ठे गाउँका गाउँलेहरूलाई गाउँपालिकाको तर्फबाट श्रमदानमा सहभागी हुने आश्वासन दिए। सिँचाइ कुलो मर्मतका लागि गाउँपालिकाको तर्फबाट एक लाख रुपैयाँ बराबरको ग्याबिन गाउँलेहरूलाई उपलब्ध गराइयो।

दुनियाँको विकाससँगै उराठ्ठे गाउँ पनि विकास हुँदै थियो। कुनै कालखण्डले उराठ्ठे गाउँलाई पछाडि पारेको मात्र थियो। विकास निरन्तर भइरहे पनि गाउँ भने दुर्गम नै थियो। गाउँमा साक्षरताको स्तर कम भए पनि गाउँलेहरूले सिँचाइ कुलो पुनर्निर्माण गर्ने तरिका निकालेका थिए। गाउँलेहरू कोही पनि अनिकालले एकएक गरी तड्पिएर मर्न तयार थिएनन्। सबै गाउँलेहरूले छाक कटाएर सिँचाइ कुलो मर्मतका लागि केही रकम जम्मा गरेका थिए। गाउँपालिकाले पनि ग्याबिन दिने भएपछि गाउँलेहरूमा सिँचाइ कुलो मर्मत गर्ने थप हौसला बढ्यो। गाउँलेहरूले तत्कालै सिँचाइ कुलो मर्मतको काम सुरु गरे।

बिहान उठेर बेलुका सुत्ने समय हुँदासम्म पाखुरा बजारेर परिश्रम गर्ने गाउँलेहरूलाई जीवन दिने सिँचाइ कुलो मर्मतका लागि कडा परिश्रम गर्न थोरै पनि गाह्रो थिएन। गाउँलेहरूलाई पुँजीको मात्र आवश्यकता थियो। पालिका अध्यक्षको वचनअनुसार गाउँमा एक लाख रुपैयाँ बराबरको ग्याबिन आएपछि कामचलाउ सिँचाइ कुलो मर्मत गर्न सकिने वातावरण बन्यो। उराठ्ठे गाउँमा सिँचाइ कुलो मर्मत गर्नका लागि हप्तादिनसम्म गाउँलेहरूले सयौँको सङ्ख्यामा कडा परिश्रम गरे। कसैले चट्टान फुटाए। कसैले ढुङ्गा ओसारे। कसैले जारो र झम्पल चलाए। अन्ततः सिँचाइ कुलो मर्मत कार्य सम्पन्न भयो। सुक्खा लागेको खेतमा पानी पुग्यो।

खेतमा धानको हरियाली छाउने भयो। गाउँलेहरूले मृत्यु र अनिकाललाई परास्त पारिदिए। अनेक सङ्कटमा नमरेका गाउँलेहरू अनिकालले पनि नमर्ने भए। गाउँलेहरू पालिका अध्यक्षप्रति आभारी भए। गाउँभरि पालिका अध्यक्ष र उनको पार्टी पनि लोकप्रिय भयो। तर पालिका अध्यक्षको नियत भने आभार व्यक्त गर्न लायकको थिएन। किनकि गाउँलेहरूले विपत्तिको सामना गर्नुअघि नै पालिकाले धेरै समस्याको समाधान गर्न सक्थ्यो। अघिल्लो वर्ष सिँचाइ कुलो निर्माण गर्दा पालिकाले कडा निगरानी र अनुगमन गरेको भए बाढीपहिरोले सिँचाइ कुलोमा त्यति क्षति पुर्‍याउने थिएन। पालिका अध्यक्षले बरु उल्टै आफ्नो पार्टीका कार्यकर्ताहरूलाई सिँचाइ कुलो निर्माणको ठेक्का दिएर चरम लापरबाही गरेका थिए।

गाउँलेहरू पनि पालिका अध्यक्षको लापरबाहीप्रति निकै रिसाएका थिए। पालिका अध्यक्षले पनि उराठ्ठे गाउँका गाउँलेहरूलाई खुबै घृणा गर्ने गर्थे। पालिका अध्यक्ष गाउँलेहरूको अज्ञानतासँग खेलवाड गरिरहन्थे। सङ्कटसँग लड्दा गाउँलेहरूले सबै कुरा बिर्सिए। गाउँलेहरूको कुलो मर्मत गर्नु नै एक मात्र लक्ष्य थियो। पालिका अध्यक्षको भने गाउँलेहरूलाई ग्याबिन दिएर सहयोग गर्नु मात्र उद्देश्य थिएन। पालिका अध्यक्षलाई आगामी चुनाव जित्न पार्टी र आफू लोकप्रिय हुनु पनि थियो। कुनै–कुनै गाउँलेहरू गाउँभरि अध्यक्ष र उनकै पार्टीको गुणगान गाउँदै हिँड्ने गर्थे। उनीहरूले नै अघिल्लो वर्ष सिँचाइ कुलो निर्माणको ठेक्का लापरबाहीका साथ सम्पन्न गरेका थिए। पालिका अध्यक्षसँग उनीहरूको साँठगाँठ राम्रो थियो।

गाउँपालिका अध्यक्षसँग साँठगाँठ हुनु भनेको उराठ्ठे गाउँमा राजा हुनुजस्तै थियो। गाउँपालिकाको नजिक हुने र बोलवाला चल्नेहरूको उराठ्ठे गाउँमा छुट्टै शान थियो। उनीहरूको कुरा कसैले नकार्न सक्दैनथ्यो। उनीहरू नै गाउँका न्यायाधीश हुन्थे। उनीहरू नै गाउँका प्रहरी हुन्थे। उनीहरूले नै गाउँमा राजनीति गर्थे। गन्नेमान्नेहरूको विरुद्धमा उराठ्ठे गाउँमा कसैले एक शब्द पनि निकाल्न सक्दैनथ्यो। उनीहरू पार्टी र पालिका अध्यक्षसँग मिलेर अबोध गाउँलेहरूसँग खेलवाड गरिरहन्थे। गाउँपालिका अध्यक्षसम्म गाउँको समस्या र जुक्ति पुर्‍याउने पनि उनीहरू नै थिए।

बाढीपहिरोले खेतको आधाभन्दा धेरै धान नष्ट गर्दा त गाउँलेहरूले राहत पाएनन् नै। गाउँपालिकाको वार्षिक प्रतिवेदन आयो। गाउँपालिकाले विपद् व्यवस्थापनका लागि करोडौँ रुपैयाँको ग्याबिन गाउँपालिकामा खर्च गरेको तथ्याङ्क भेटियो। यो वर्ष पनि गाउँपालिका अध्यक्ष र गाउँका केही गन्नेमान्नेहरूले अबोध गाउँलेहरूसँग जघन्य खेलवाड गरे। श्रम र पुँजी त गाउँलेहरूको पनि लागेको थियो। पालिका अध्यक्ष र बोलवाला चल्ने गाउँलेहरूले मात्र राम्रो कमिसन कमाउने अवसर पाए। काम राम्रैसँग सम्पन्न भएको थियो। कागजमा सबै विधि पुगेको थियो। खेतमा पानी पुगेकाले गाउँलेहरूले पनि चित्त बुझाएका थिए। बोलवाला चल्नेहरूले सिँचाइ कुलो मर्मतका लागि गाउँलेहरूले पाएको ग्याबिनमध्ये आधाउधी आफ्नो घरबारीमा खसेको ढिस्को टाल्न लगेका थिए। यसरी सिँचाइ कुलोमा पानी धेरै समय नबग्ने सम्भावना मात्र बढेको थियो। अबोध गाउँलेहरू नै पटकपटक सरकारदेखि गाउँसम्म लुटिएका थिए।

बतासे गाउँपालिका–४, उराठ्ठे गाउँ अनेक सङ्कट, समस्या र राजनीतिमा रुमल्लिइरह्यो। निरन्तर विकासतर्फ भौँतारिए पनि दुनियाँ जसरी विकसित हुन सकेन। पछाडि परेको गाउँ सधैँ पछाडि नै रहन बाध्य भयो। गाउँमा सामान्य मानिसलाई जीविका चलाउन एकदमै गाह्रो थियो। गाउँमा आधारभूत सेवासुविधासमेत थिएनन्। गाउँमा पार्टीका सदस्य र बोलवाला चल्नेहरूलाई मात्र पालिका अध्यक्षले आधारभूत सेवासुविधा दिएका थिए।

बतासे गाउँपालिका बतासजस्तै राजनीतिसँग जताततै बतासियो। धेरैजना युवाहरू जहाजमा चढेर आकाशमाथि बतासिए। बतासे गाउँपालिका–४, उराठ्ठे गाउँ सुनसान हुँदै गयो। उराठ्ठे गाउँ उराठलाग्दो मात्र भइरह्यो।

समाप्त

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *