अन्य खेलकुद

रङ्गशाला निर्माणपछि भोजपुरमा खेल गतिविधि बढ्दै

Pariwartanka Lagi aawaj July 23, 2026 1 मिनेट पढ्न 0 टिप्पणी

भोजपुर। आधुनिक रङ्गशाला निर्माण सम्पन्न भएपछि भोजपुरमा खेलकुद गतिविधिले नयाँ गति लिएको छ। खेलकुद क्षेत्रमा पहिलेदेखि नै योगदान दिँदै आएको भोजपुर अब खेल पूर्वाधारको दृष्टिले पनि थप सुदृढ बन्दै गएको छ।

भोजपुर नगरपालिका–७, कोदारमा निर्माण गरिएको पाँच हजार दर्शक क्षमताको रङ्गशाला कोशी प्रदेश सरकारको करिब १४ करोड ५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो। करिब सात हजार वर्गमिटर संरचना रहेको रङ्गशाला २५ रोपनी क्षेत्रफलमा फैलिएको छ भने सात वटा प्यारापिट निर्माण गरिएको छ।

२०६४ सालमा तत्कालीन जिल्ला विकास समिति बोर्डले जिल्ला खेलकुद परिषद्मार्फत ५५ लाख रुपैयाँमा रङ्गशालाका लागि जग्गा खरिद गरेको थियो। प्रारम्भिक चरणमा केही स्तरोन्नतिको काम भए पनि पर्याप्त बजेटको अभावका कारण योजना लामो समयसम्म अधुरै रहेको थियो।

देश संघीय प्रणालीमा प्रवेश गरेपछि आवश्यक बजेट व्यवस्थापन भई रङ्गशाला निर्माण सम्पन्न भएको हो। यससँगै लामो समयदेखिको आधुनिक खेल पूर्वाधारको आवश्यकता पूरा भएको स्थानीयको भनाइ छ।

रङ्गशाला सञ्चालनमा आएपछि अब भोजपुरमै राष्ट्रिय तथा प्रदेशस्तरीय खेल प्रतियोगिता आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ। यसबाट खेल पर्यटनको विकास, स्थानीय आर्थिक गतिविधिमा वृद्धि तथा नयाँ खेल प्रतिभाको पहिचान र विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

भोजपुरले यसअघि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थुप्रै खेलाडी उत्पादन गरिसकेको छ। अल्ट्रा धाविका मिरा राई, ब्याडमिन्टन खेलाडी नङशलादेवी तामाङ, रत्नजित तामाङ, सरादेवी तामाङ, विकास श्रेष्ठ, विवेक श्रेष्ठ, नवीन श्रेष्ठ तथा भलिबल खेलाडी जोसन श्रेष्ठ र दुर्जकुमार राईलगायतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जिल्लाको परिचय स्थापित गरेका छन्।

यति धेरै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने जिल्लामा पर्याप्त खेल पूर्वाधारको अभावका कारण खेलाडीले नियमित प्रशिक्षण, स्तरीय प्रतियोगिता र आवश्यक सुविधा पाउन कठिनाइ भोग्दै आएका थिए। विशेषगरी उपयुक्त रङ्गशाला नहुँदा ठूला प्रतियोगिता आयोजना गर्न समस्या हुने गरेको थियो।

स्थानीय खेलप्रेमीका अनुसार आधुनिक सुविधासहितको रङ्गशाला निर्माण भएसँगै युवापुस्ताको खेलप्रतिको आकर्षण बढेको छ भने आगामी दिनमा भोजपुर खेलकुदको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *